तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्न जरुरी : अध्यक्ष नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय एकताको प्रथम महाधिवेशनको आज जनकपुरधामको तिरहुतियागाछीमा शुरु भएको उद्घाटन शत्रमा अध्यक्ष नेपालले प्राकृतिक श्रोतसहित धार्मिक तथा सांस्कृतिक रुपमा मुलुक समृद्ध भएकाले यसको सही व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले जनता समाजवादी निक्कै कठिन अवस्थाबाट गुज्रे पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्दै दृढ इच्छाशक्तिसहित अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मधेस पहाड बीचको सम्बन्ध सुमधुर भएको उल्लेख गर्नुहुँदै यसलाई विभिन्न प्राकृतिक विपत्तिको समयमा दुवै भूगोलमा बस्ने जनताले देखाउने गरेको सद्भावले पुष्टि गरेको बताउनुभयो ।
सबै राजनीतिक दलहरू सह अस्तित्वका साथ काम गर्न आवश्यक भएको उल्लेख गर्नुहुँदै उहाँले कुनै पार्टी विभाजन हुनु मुलुकका लागि दुर्भाग्य भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले मधेस आन्दोलनसहित अन्य आन्दोलनको बलमा प्राप्त भएको २०७२ सालको संविधानको रक्षा गर्दै मुलुकमा उपलब्ध साधन श्रोतको अधिकतम उपयोग गर्दै मुलुकलाई विकासको पथमा लानुको विकल्प नभएको बताउनुभयो ।

उहाँले मधेसलाई सम्पन्न बनाउनका लागि कृषिको विकासका लागि सिँचाइको व्यवस्था गर्दै मुलुकलाई औद्योगीकरणतर्फ लान आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा नेपालको विभिन्न भूगोल तथा जातजातिको सांस्कृतिक नृत्यहरू प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button