राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै
कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिकाको वन समिति, झलारी कलुवापुर बजार क्षेत्रको सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरको समन्वयमा नगरपालिकाले वनसमिति बजारबाट अतिक्रमण गरी निर्माण गरिएका छाप्रा, खोका, ठेला, बरण्डा, सिँढीलगायतका संरचना हटाउने काम सुरु गरेको हो ।
“सडक क्षेत्राधिकार मिचेर निर्माण गरिएका संरचनासँगै सडक क्षेत्रमा थुपारिएको निर्माण सामग्री हटाउने काम सुरु गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले भन्नुभयो, “सडक क्षेत्रको जग्गामा अनुमतिविना निर्माण सामग्री राख्नेसँग कानुनअनुसार जरिवाना लिने काम भइरहेको छ ।”
सडकको दुवैतर्फको अतिक्रमण नहटाउँदासम्म अभियान जारी रहने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार सडक क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका दुई दर्जन बढी संरचना हटाइएका छन् ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इन्जिनियर भोजराज रानाले सडकको बीच भागबाट दायाँबायाँ २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको बताउनुभयो । “सडक क्षेत्रको अतिक्रमण हटाए पछि बजार क्षेत्रको सौन्दर्यता थपिन्छ”, उहाँले भन्नुभयो, “सडक क्षेत्रमा देखिने ट्राफिकको समस्या पनि हट्छ, सडक विस्तारमा सहयोग पुग्छ ।”
उहाँका अनुसार यसअघि पूर्वपश्चिम राजमार्गको भीमदत्त नगरपालिकाको गड्डाचौकीदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको सडक अतिक्रमण हटाइएको छ । आउँदो आवदेखि सडक चौडा गर्ने काम सुरु हुने उहाँको भनाइ छ । रासस








प्रतिक्रिया राख्नुहोस्