तपाईँ सुन्दै हुनुहुन्छः

आगामी वर्षदेखि पालिकास्तरमा रोजगार मेलाको आयोजना गरिने : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी वर्षदेखि पालिकास्तरमा रोजगार मेलाको आयोजना गरिने बताउनुभएको छ ।

आजदेखि गण्डकी प्रदेशको पोखरामा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्नुहुँदै मन्त्री अर्यालले रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाता बीच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना गरेको बताउनुभयो ।

“अहिलेको परिप्रेक्ष्यमा श्रमाधान रोजगार मेला सान्दर्भिक ठानेर हामीले बजेट बिना पनि मेलाको आयोजना गरौँ । छोटो अवधिमा नै मेला गर्नुपर्ने भएकोले हामीले कतिपयलाई कार्यक्रममा सहभागी गर्न सकेनौ । तर, आगामी दिनमा संयुक्त रुपमा यस्ता कार्यक्रम गर्न तीन वटै सरकार मिलेर पालिकास्तरमा नै गर्नेछौँ”, मन्त्री अर्यालले भन्नुभयो ।

उहाँले नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न यो मेलाले सहयोग गर्ने बताउनुभयो । “श्रम खोज्नेको ठूलो सङ्ख्या छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाएर आप्रवासी श्रमिक भित्राएका छन् । श्रमिक र रोजगारदाता बीच खाडललाई अन्त्य गर्न यस्तो मेलाले सहयोग गर्छ, उहाँले भन्नुभयो । श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्वपूर्ण नरहेको उहाँको भनाइ छ ।

उहाँले यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताउनुभयो । मन्त्री अर्यालले दुई दिने मेलाले वैदेशिक रोजगारीमा जानेहरूलाई समेत धेरै जानकारी मिल्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेकोमा धन्यवाद दिनुभयो । उहाँले मेलाले श्रम र रोजगारको क्षेत्रमा नयाँ दिशा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बेरोजगारको सङ्ख्या निकै बढी हुँदा सामाजिक सञ्जालमा अनावश्यक कुराहरू लेखेर देशको ठुलो पङ्क्ति भौतारिरहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले अहिले नेपालको सबैभन्दा चुनौती भनेको रोजगारी दिनु रहेको बताउनुभयो । “रोजगारी खोजीको सिलसिलामा गाउँ छोड्ने ट्रेण्ड देखिएको छ । यो रोक्न सकिएन भने हाम्रो भविष्य राम्रो हुदैन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रोजगारी खोज्नेहरूलाई रोजगारदातासम्म पुर्‍याउने पुलको काम गर्ने बताउनुभयो। उहाँले मेलामा रोजगारलाई महत्व दिएर गण्डकी प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो । श्रमलाई व्यवस्थित र मर्यादित गर्ने कुरामा मेलाले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरले अहिलेसम्म तीन हजारभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गरिसकेको बताउनुभयो । उहाँले श्रम र रोजगारसँग सम्बन्धित कार्यक्रमहरूमा तीनै तहका सरकार मिलेर जानुपर्ने बताउनुभयो ।

मेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ लगायतका सरोकारवाला संस्थाहरू रहेका छन् ।

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरू राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।

आज र भोली गरी दुई दिनसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे संवाद समेत हुनेछ। मेलामा पहिलो दिन श्रम आप्रवासन: कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ ।

त्यस्तै दोस्रो दिन भोलि शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा संवाद हुनेछ ।

कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button