ठाकुरज्यूको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार बनाउँदै गुठिचौर गाउँपालिका

जुम्ला । जुम्लाको धार्मिक पर्यटकीय गन्तव्य ठाकुरज्यूको प्रवर्द्धनका लागि यहाँको गुठिचौर गाउँपालिकाले पूर्वाधार विकासलाई अघि बढाएको छ । मुख्यतया सहज बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुर जाने सडक पूर्वाधार निर्माणलाई गुठिचौरले अघि बढाएको हो ।
कर्णालीका बढीमालिका, छायाँनाथ, ऋणमोक्ष, तिहारा, विष्टज्यू जस्तै ‘ठाकुरज्यू’ पनि एक महत्त्वपूर्ण तिर्थ स्थल हो । जहाँ साउन पूर्णिमाको समयमा हजारौँको सङ्ख्यामा ठाकुरज्यू पुग्छन् । बुढादेखि बाला सम्म पुग्ने ठाकुर ज्युमा बस्ने राम्रो धर्मशाला,जाने सडक बाटो नहुँदा निकै सास्ती हुने गरेको छ ।
विशेषगरी ठाकुरज्यूको प्रवर्द्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,‘पर्यटन क्षेत्र आर्थिक समृद्धि रोजगारी सृजनाका मुख्य आधार हुन् । पालिकाले गुठिचौर उपत्यका,ठाकुरज्यू लगायतका क्षेत्रको प्रर्बद्धनमा लगानी बढाउने सोचमा छौ । सीमित स्रोतका कारण अत्यावश्यक क्षेत्रमा बजेट छुटाउँदा पर्यटन क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन ।’
गुठिचौरको लाग्न हुँदै ठाकुरज्यू जोड्ने सडकको गत साता अध्यक्ष दान बुढा र उपाध्यक्ष शान्ति मल्ल भण्डारीले संयुक्त शिलान्यास समेत गरेका छन् । कामको गुणस्तर,समयमै काम सक्नका लागि नियमित अनुगमन तथा निरीक्षणको कामलाई जोड दिइने उपाध्यक्ष शान्ति मल्ल भण्डारीले बताउनुभयो । उहाँका अनुसार संघ प्रदेशसँग गुठिचौरको पर्यटन प्रवर्द्धनका लागि बजेट माग गरिने छ ।
यता प्रमुख प्रशासकीय ध्रुर्वराज गिरीका अनुसार गुठिचौरको लाग्ना हुँदै ठाकुरज्यू जोड्ने सडक कुल २८ लाख ४० हजार ४७७ रुपैयाँ लगानीमा निर्माण हुने छ । उहाँले उक्त सडक निर्माणपछि ठाकुरज्यू प्रर्बद्धनमा इँटा थपिने विश्वास व्यक्त गर्नुभयो ।
सडक निर्माणको ठेक्का (के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पाले पाएको छ । कुल एक करोडको ठेक्का आह्वान भएपनि अघिघटाउमा निर्माण व्यवसायीसँग २८ लाख ४० हजार ६७७ रुपैयाँमा ठेक्का सम्झौता भएको गुठिचौरका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार लाग्नादेखि ठाकुरज्यू सम्म पहिलो चरणमा तीन हजार पाँच सय मिटर निर्माण हुने भएको छ । पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तरबृद्धि गरेर ठाकुरज्यू सम्मको यात्रालाई सहज बनाउने पालिकाको लक्ष्य रहेको भण्डारीले उल्लेख गर्नुभयो ।
सङ्घीयतापछि स्थानीय सरकार पर्यटन प्रवर्द्धनका क्षेत्रमा अपेक्षित लगानी गर्न सकेका छैनन् । आन्तरिक आम्दानी वृद्धि,रोजगारी सृजनाको मुख्य आधार पर्यटन भएपनि प्रर्बद्धनमा स्थानीयतहको ध्यान पुगेको छैन ।
एकातिर गाउँ बस्तीबाट शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, सडकका योजना बढी माग हुने,अर्कोतिर कार्यपालिकाले आवश्यकतामा आधारित भन्दा पनि भागभण्डामा आधारित बजेट छुटाउने भएकोले पर्यटन क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन ।
तर जुम्लाको तातोपानी गाउँपालिकाले भने गुमनाम गिदिहलाई भने प्रवर्द्धन गर्न विभिन्न प्रयास गर्दै आएको छ । प्रवर्द्धनका गिडिदहमै सम्मेलनदेखि, दहको नाँपजाँच सार्वजनिक, पदमार्ग निर्माण लगायतका काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताउनुभयो । उहाँले गिडिदह, तातोपानी धाराको प्रवर्द्धनलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्