‘हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।

अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवं ज्ञान विज्ञान धार्मिक महामहोत्सवको उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाउन सरकारले नीति ल्याउने बताउनुभयो ।
सरकारले उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशीलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा थुप्रै खनिज तथा खानीजन्य उत्खननलाई मन्त्रालयले प्राथमिकता दिन आन्तरिक नीतिगत अप्ठ्यारालाई सुधार गर्न लागेको जानकारी गराउनुभयो ।

पूँजीगत बजेट चालु आवमा खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले त्यसले समृद्धिको लक्ष्यमा मुलुकलाई केही पछाडि पारेको बताउनुभयो । सरकार न्यूनतम साझा कार्यक्रमअनुसार अगाडि बढ्ने उहाँको भनाइ छ । पछिल्लो पटक आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको जनाउँदै मन्त्री भण्डारीले आगामी दिनमा थप सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्