तपाईँ सुन्दै हुनुहुन्छः

तातो हावा ‘लु’ चल्दा बाँकेको जनजीवन प्रभावित

बाँके । अत्याधिक गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि बाँकेको अधिकतम तापक्रम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार अझै केही दिन तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्को गर्मीका कारण अत्यावश्यक काममा निस्कने पैदल यात्रीले चस्मा र छाता प्रयोग गर्न बाध्य छन्। घरमा बसे पनि झ्याल ढोका नखोल्ने, अनावश्यक रूपमा बाहिर नहिँड्ने, बाहिर निस्कँदा कालो चस्माको प्रयोग गर्ने र छाताको सहयोगमा गर्मी छल्ने गरेको पाइएको छ।

कोहलपुर १२ का सरोज पन्थीले अत्यधिक गर्मीले हिँडडुलमा कठिनाइ महसुस भएको सुनाउनुभयो। ‘तराईवासीले गर्मी छल्ने उपाय निकालिरहेका छन्,’ उहाँले भन्नुभयो ‘गर्मीकै कारण दिउँसोको काम बिहान र बेलुकालाई साच्ने गरेका छौँ।’ बिहानै उदाउने चर्को घामको राप र दिउँसो चल्ने तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै गएको हो।

वैशाख पहिलो सातादेखि नै तापक्रमको पारो उकालो लागेको रेकर्डमा देखिन्छ। तापक्रम बढेपछि बालबालिका र वृद्ध प्रभावित भएको कोहलपुर नगर अस्पतालका प्रमुख अनिल सेन ठकुरी बताउनुहुन्छ। ।
यस्तै तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठले आग्रह गर्नुभएको छ ।


अत्यधिक गर्मी हुने नेपालगन्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ ।
दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेलले बताउनुभयो ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पताल लगायत अन्य निजी अस्पतालमा पनि बिरामीको चाप बढेको छ। दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगन्ज कोहलपुर र खजुराका बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button