तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई घरेलु मैदानमै हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

आयोजक भोजपुरको टिमलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका वडा नम्बर सात, कोदार रङ्गशालामा सञ्चालन भएको खेलमा चर्च व्बाइज युनाइटेडका तर्फबाट जर्सी नम्बर ३ का इलारा एस डिक्काले खेलको ५ औ मिनेटमा पहिलो गोल गरेका थिए । यसैगरी जर्सी नम्बर ७ का अबोयोमीले खेलको ११ औ मिनेटमा दोस्रो गोल र जर्सी नम्बर ११ का नवीन लामाले खेलको ७७ औ मिनेटमा तेस्रो गोल गरेका थिए । प्रयास गर्दा गर्दे पनि आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको तर्फबाट कुनै पनि गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच चर्च व्बाइज युनाइटेड काठमाडौँका जर्सी नम्बर ११ का खेलाडी नवीन लामा भएका छन् । उनले नगद पाँच हजारका साथमा मेडल पाएका छन् ।

प्रतियोगिता अन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई ४–० गोल गर्दे सेमिफाइनल प्रवेश गरेको छ भने सोमवारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलवार भएको तेस्रो खेलमा डाँगीहाट यूथ क्लब मोरङलाई ४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिराहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र खोटाङ भगवती स्पोर्ट्स क्लब बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

फाइनल खेल आगामी वैशाख १५ गते हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button