तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट ७० करोडको जडीबुटी निकासी

बाँके । नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । गएको नौ महिनामा ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।

जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले अनेकौँ कठिनाइका बाबजुद पनि व्यवसायीले नौ महिनामा ७० करोडको जडीबुटी निकासी हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले नेपाली जडीबुटीप्रति भारतको कडा रवैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षबाट पुनः उकालो लाग्ने सङ्केतहरू देखिएको बताउनुभयो।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार ८३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको हो ।

कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । यहाँबाट भारत लगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार यो नाकाबाट टिम्मुर, रिठा र काउरो सबैभन्दा बढी निकासी भइरहेको छ ।

औषधी, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको सङ्घले जनाएको छ । कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीहरूले विदेश निकासी गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button