लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीले पाउनुभयो जिम्मेवारी
दाङ । लुम्बिनी प्रदेशका ७ जना बिना विभागीय मन्त्रीले जिम्मेवारी पाउनुभएको छ ।
लुम्बिनी प्रदेशको सहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनाएको छ । चारै जना नेकपा एमालेबाट मन्त्री बन्नुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ ।
चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीको हुनुहुन्छ । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसक्नुभएको छ ।
यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिनुभएको छ । जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै मन्त्री अहिरले राजीनामा दिनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राख्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्