प्रशासन कार्यालयले सार्वजनिक बिदामा समेत सेवा दिन थालेपछि सेवाग्राहीलाई राहत
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १ गतेबाट सार्वजनिक बिदाका दिनमा सेवा दिन थालेपछि सेवाग्राहीलाई राहत भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी राजपत्रमा उल्लेखित शनिवारका दिन बाहेक यस वर्ष परेका १९ वटा सार्वजनिक बिदाका दिनमा कार्यालयबाट सार्वजनिक सेवा प्रवाह हुने उल्लेख गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गर्नुभएको सूचनामा २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म परेका १९ वटा सार्वजनिक बिदाका दिनमा जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।
सूचनामा यस वर्ष गणतन्त्र दिवस, सहिद दिवस, रामनवमी, घटस्थापना, क्रिसमस डे, ल्होसार, गणतन्त्र दिवस, रक्षाबन्धन, बुद्ध जयन्ती, उभौंली पर्व, महाशिवरात्रि, माघी पर्व, पृथ्वी जयन्ती, इद उल फित्र, बकर ईद, राष्ट्रिय प्रजातन्त्र दिवस, श्रीकृष्ण जन्माष्टमी गरी विभिन्न पर्व र दिवसमा १९ दिन सार्वजनिक बिदा दिइएको भए पनि ती दिन जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्रदान गरिने जनाइएको छ ।
जिल्ला प्रशासनले प्रदान गर्ने आधारभूत सेवासँगै नागरिकतासम्बन्धी सेवा, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणसम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाइएको उक्त सूचना मार्फत जानकारी गराइएको छ ।
यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाइएको सूचना मार्फत जनाइएको छ ।
यसरी सार्वजनिक बिदामा समेत कार्यालय सञ्चालनमा आएपछि विशेष गरी बिदाको दिनमा समेत आकस्मिक कामले सेवा लिन प्रशासन कार्यालय पुगेका सेवाग्राहीलाई राहत पुगेको पर्साका ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्