अवरुद्ध भएको ४८ घण्टापछि माडीमा विद्युत् सुचारु
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत गरिएको तार (केबल) पड्किएर अवरुद्ध भएको माडीको विद्युत् सेवा सुचारु भएको छ । विद्युत् अवरुद्ध भएको करिब ४८ घण्टापछि बिहीबार राति ११ बजे माडीमा पुनः बिजुली बलेको हो ।

३३ केभीको सिङ्गल सर्किट केबल पटक–पटक पड्किँदा माडीमा पटक पटक विद्युत् अवरुद्ध हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रको प्राविधिक टिमले भरतपुर वितरण केन्द्रका प्राविधिक समेतको सहयोगमा बिहीबार राति भूमिगत तार मर्मतको काम सकेका हुन् ।
माडीमा विद्युत् लैजान निकुञ्जभित्र आठ किलोमिटर क्षेत्रमा विद्युत् लाइन भूमिगत गरिएको छ । निकुञ्ज भित्र वैकल्पिक केबल भूमिगत गर्ने योजना लामो समयदेखि रोकिएको छ । पूरक इआइएको फाइल वन तथा वातावरण मन्त्रालयमा रोकिएपछि वैकल्पिक केबलको काम अघि बढ्न सकेको छैन ।
माडीमा पटक–पटक विद्युत् अवरुद्ध भएपछि निकुञ्जभित्र वैकल्पिक तार भूमिगत गर्ने कार्यलाई शीघ्र अगाडि बढाउनबारे मन्त्रालयको ध्यानाकर्षण गराउन माडीका नगर प्रमुख ताराकाजी महतो र उपप्रमुख खेमप्रसाद महतो सहितको प्रतिनिधि मण्डल काठमाडौँ पुगेको थियो । प्रतिनिधि मण्डलले सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरी नगरवासीले भोग्नुपरेका समस्या र विद्युतको दीर्घकालीन समाधानका लागि आग्रह गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्