तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गा प्रसाईं प्रशासनमा हाजिर भएर साधारण तारेखमा छुटे


भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएर छुट्नु भएको छ ।

प्रसाई आज बिहान जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए । हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिनुभएको हो । प्रजिअ पाण्डेले उहाँका बारे अन्तिम निर्णय नभए सम्मका लागि साधारण तारेखमा छाडिएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाई ंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रसाईंले आज प्रशासन कार्यालयमा गएर बयान दिनुभएको छ ।

प्रशासनले प्रसाईंको बयान पछि साधारण तारेखमा छोड्ने आदेश दिएको हो । प्रसाईंलाई एक महिना खोज्दा पनि प्रहरीले भेट्न सकेको थिएन । रु २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईं विरुद्ध आयोगका उपाध्यक्ष डा. गिरीले मानहानीको मुद्दा हाल्नुभएको थियो । प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा गिरीले उजुरी दिनु भएको थियो ।

प्रसाई साधारण तारेखमा छुटेको बारे आफुलाई प्रशासनले केही केही थाहा नदिएको र केही थाहा नभएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रतिकृया दिनुभयो । गिरीले आफ्नो तर्फबाट प्रसाई बिरुद्धको कानुनी र प्रशासनिक लडाईं जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button