निस्दीमा कृषि, पर्यटन ,साँस्कृतिक तथा खेलकुद महोत्सव सुरु

(रामपुर) पाल्पा । मासु, अण्डा र च्याउ र अम्रिसो खेतीमा आत्म निर्भर निस्दी गाउँपालिका पाल्पामा कृषि ,पर्यटन, संस्कृति, खेलकुद निस्दीको शान समृद्ध निस्दी हाम्रो अभियान भन्ने मुल नाराका साथ दोस्रो निस्दी कृषि, पर्यटन ,सांस्कृतिक तथा खेलकुद महोत्सव २०८० को सुरु भएको छ ।
निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा झ्याल्टुङ खेल मैदानमा महोत्सव सोमबारदेखि आगामी वैशाख ३ गतेसम्म चल्नेछ ।
मेलामा स्थानीय कृषि तथा पशु उपज तथा हस्तकलाका सामाग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, खुल्ला अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति, निस्दी डान्स आइडल, बाल उद्यान र फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।
महोत्सवको प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले उद्घाटन गर्नुहुँदै यदाकदा सङ्घीय संरचनाप्रति नकारात्मक टिका टिप्पणी हुन थालेका बेला स्थानीय तहले गरेको राम्रा प्रयास र सफलताबारे निस्दी गाउँपालिकाले गरेका सफल कामको सन्देश दिन महोत्सव महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अम्रिसो खेतीबाट परिचय दिएको निस्दी गाउँपालिकाले मासुजन्य उत्पादन बाख्रा कुखुरा अण्डा र च्याउ खेतीमा आत्मनिर्भर हुन सक्नु राम्रो कुरा भएको पनि बताउनुभयो।
लुम्बिनी प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठले रोजगारकै लागि युवाहरू विदेशिने क्रम बढ्दै गएको र गाउँहरू रित्तो हुँदै गइरहेको सन्दर्भमा विस्थापित बस्तीलाई स्थापित गर्नका लागी कृषिको आधुनिकीकरण र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
निस्दी खेलकुद बिकास समिति अध्यक्ष उमेश कुमार गाहाको अध्यक्षतामा महोत्सव सञ्चालन भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्