तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

इलाम । इलाम क्षेत्र न। २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । गत २४ गते भएको उम्मेदवारी दर्ताको क्रममा ८ जना स्वतन्त्र र १२ दल गरी २० जनाको उम्मेदवारी दर्ता भएको थियो ।

एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गरेका केशब कुमार चापागाईँले उम्मेदवारी फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृत केशवकुमार घिमिरेले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवारले आजै चुनाव चिह्न समेत पाउनुभएको छ। चुनाव चिह्न रोज्नुभएका स्वतन्त्र उम्मेदवारले डोजर, महिला, जुँगा भएको अनुहार चुनाव चिन्ह पाउनुभएको छ ।

उपनिर्वाचनमा एमालेबाट सुहाङ नेम्बाङ, नेपाली काँग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलनकुमार योङहाङ लिम्बू, पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारीको रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।

जनमत पार्टीबाट प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालबाट धनराज रानामगर, राप्रपाबाट लक्ष्मी गुरुङ, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्तविक्रम साह, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशमबहादुर सुनार लगायत चुनावी मैदानमा हुनहुन्छ ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यतालिका अनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचार अवधि राखिएको छ भने वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button