तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा अध्यक्ष दाहाल र इजरायली राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र नेपालस्थित इजरायली राजदूत Hanan Goder Goldberger बीच शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल(इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो।

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो।

अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीहरूमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गर्नुभयो। अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरू इजरायलमा रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभएको थियो।

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटकहरू आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जतिसक्दो धेरै इजरायली नागरिकहरूलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवर्द्धन गर्नमा योगदान गरिदिन आग्रह समेत गर्नुभयो।

सो अवसरमा इजरायली राजदूत हानन गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ठ रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरूका हिसाबले निकै धनी रहेको बताउनुभयो। आफू लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको भन्दै राजदूतले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारा लगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यहरूले विश्वमै नेपालको पहिचान दिएको बताउनुभयो।

लर्न एण्ड अर्न कार्यक्रम आफूले नै पहल गरेर शुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताउनुभयो। उहाँले दुर्भाग्यवश पछिल्लोपटक भएको घटनाबाट पीडितका घर–घरमै पुगेर भेटेको बताउनुभयो।

इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button