तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल आँखा अस्पताल ५१औँ वर्षमा : हालसम्म ३४ लाख जनाले पाए आँखा सेवा

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । 

विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

स्वर्ण महोत्सवको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आँखा सेवा नपाएका धेरै अझै पनि समुदायमा रहेको, उपचारको दायरामा आउन नसकेको र घरघरमा गएर आँखासम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्न पहल भइराखेको जानकारी दिइयो । 

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाको वडा नं ११ लाई मोतिबिन्दुरहित क्षेत्र बनाउने अभियानमा छौँ । वडा र अस्पताल मिलेर त्यहीँको स्वयंसेवी खटाइ विवरण लिने र आवश्यकलाई सहुलियतसहित उपचार सेवा दिइरहेका छौँ ।”  

उहाँले यो कार्यक्रम सुरु भएको छ महिनामा १२ सय जनाको परीक्षण गरिएकामा ३४ जनाको शल्यक्रिया भएको जनाउनुभयो । अस्पतालका बोर्ड सचिव युद्धध्वज सापकोटाले पैसा नभएका कारणले कुनै पनि बिरामी सेवा नपाइ फर्किनु नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आधुनिक प्रणालीबाट सहुलियत शुल्कमा विशेषज्ञ सेवा दिइरहेका छौँ । दैनिक चार सयदेखि सात सय जनालाई बहिरङ सेवा लिइरहेका छन् ।”

पत्रकार सम्मेलनमा अस्पतालले  आगामी  वैशाख १ गतेदेखि विस्तारित क्लिनिक पनि सेवा सुरु गर्ने जानकारी दिइयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button