तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताउनुभएको छ । 

आज काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उहाँले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भई लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरू एक भएर लाग्नुपर्छ । आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो, “घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ ।”

त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । “नेपाली काँग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भई काम गर्नका लागि स्थिरता र विकासको बाटो खोज्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “आर्थिक वृद्धिसहित समानतामूलक समाज निर्माण गर्ने हाम्रो सङ्कल्प हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button