तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा समस्या 

बर्दिया । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा बर्दिया कारागार व्यवस्थापनमा समस्या परेको छ भने कैदीबन्दीहरूले कष्टपूर्ण जीवन बिताउनु परेको छ । एक सय ५० जनाको क्षमता रहेको बर्दिया कारागारमा तिन जना आश्रित बालबालिका सहित चार सय ५१ कैदीबन्दी रहेका छन् ।  

बर्दिया कारागारमा पुरुष ब्लक तर्फ एक सय २५ जनाको क्षमता रहेता पनि हाल चार सय २ जना रहेका छन् । जसमध्ये दुई सय ७४ जना कैदी र एक सय २८ जना बन्दी रहेका छन् । त्यसैगरी २५ जनाको क्षमता रहेको महिला कारागारमा २८ जना कैदी, १८ जना बन्दी र ३ जना आश्रित बालबालिका गरी ४९ जना रहेका छन् ।

क्षमता भन्दा बढी सङ्ख्या भएको कारण कारागारमा सुत्न बस्न समस्या देखिएको छ । सानो कोठामा भुईँमा कोचिएर सुत्नु पर्ने बाध्यता रहेको कारागारका कैदीबन्दीहरू बताउँछन् । कारागारमा हुनुपर्ने पर्याप्त कोठा समेत नभएको उनीहरूको गुनासो रहेको छ ।  शौच गर्न नुहाउनका लगाएतका व्यक्तिगत सरसफाइको लागि समेत लामो लाइन बस्नु पर्ने बाध्यता रहेको छ । खेल्न र शारीरिक व्यायम गर्नका लागि ठाउँ साँगुरो रहेको छ । खाना पकाउने भान्सा सानो र साँगुरो भएको हुनाले खाना पकाउन र खान सास्ती भोग्नु पर्ने अवस्था रहेको कैदीबन्दीहरू बताउँछन् । 

एक मात्र फिल्टर भएको हुनाले पर्याप्त शुद्ध खानेपानीको व्यवस्था समेत नभएको कारागारका मूल नाइके  खुसीराम चौधरीले बताउनु भयो । उहाँले मानव भएको नाताले न्यूनतम सेवा सुविधा पाउन पनि मुस्किल भएको बताउँदै गर्मीको समयमा अझै बस्नका लागि शास्ती हुने बताउनु भयो । 

बर्दिया कारागारका प्रशासक काशी प्रसाद पङ्गेनीले क्षमता भन्दा धेरै कैदीबन्दी भएको हुनाले उनीहरूलाई न्यूनतम सेवा सुविधा दिन कठिनाइ भएको बताउनु भयो । उहाँले भौतिक संरचनाको अभावमा बस्न खान समस्या रहेको बताउँदै व्यक्तिगत सरसफाइका लागि पानी र पिउनका लागि शुद्ध खानेपानी  पुर्‍याउन कठिनाइ भएको बताउनु भयो ।  कारागारमा कैदीबन्दीलाई बस्न सहज होस भनेर कोसिस गरिरहेका छौँ । उहाँले भन्नुभयो –‘क्षमता भन्दा बढी भएकोले पनि सेवा सुविधा दिन कठिनाइ भएको हो ।’ 

बर्दिया कारागारको कैदीबन्दीलाई राख्ने भवन पुरानो छ ।  पछिल्लो समयमा भूकम्प प्रतिरोधी संरचना बनाउने भनिएता पनि बर्दिया कारागारको भवन भने चुहिने रहेको छ । समय समयमा मर्मत संहार गरेर काम चलाऊ बनाइरहेको कारागारका कारागार प्रशासक पङ्गेनीले बताउनु भयो । उहाँले भन्नु भयो –‘ भूकम्प आयो भने त थेग्न सक्दैन होला, जोखिमपूर्ण छ ।’  पुरानो भवन भएकोले विद्युत् वायरीङ्गमा पनि समय समयमा समस्या आउने गरेको उहाँले बताउनु भयो ।  बर्षौ पहिले बनेको भवनमा व्यवस्थित विद्युत् पानी र शौचालय छैन । 

बर्दिया कारागारको नाममा दुई बिगाहा भन्दा बढी जग्गा भएपनि महिला र पुरुष ब्लक र कार्यालय प्रयोजनको लागि बढीमा १५ कठ्ठा जग्गा प्रयोग भएको छ । सबै जग्गालाई सुरक्षित रुपमा कम्पाउण्ड गरेर आधुनिक भवन बनाउनु पर्ने आवश्यकता रहेको बर्दिया कारागारका प्रशासक पङ्गेनीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button