गैँडा गणना गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज
बाँके । बर्दिया राष्ट्रिय निकुञ्जले गैँडाको सङ्ख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैँडाको अवस्था बुझ्न निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरेको छ ।
पन्ध्र दिनसम्म गैँडाको अनुगमन गरिने बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । अनुगमन गर्न १० वटा हात्ती, निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, निकुञ्जका कर्मचारीलगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालित भएको सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी गराउनु भएको छ । गैँडाको बासस्थान मानिएको बबई उपत्यका र कर्णाली नदी तटीय क्षेत्रमा ६ वटा बल्कमा अनुगमन हुने छ ।चैत्र १६ गते बाट सुरु भएको गैँडा गणना १५ दिनसम्म हुने छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बर्षेनि गैँडाको अनुगमन हुने गर्छ । निकुञ्जमा पछिल्लो गणना २०२२ का अनुसार यहाँ ३८ वटा गैँडा रहेका छन् । सोही अवधिमा तीमध्ये तीन वटा केटाको बाघ र प्राकृतिक कारणले मृत्यु भएको छ ।
करिब १५ वर्षयता बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पनि गैँडा चोरी सिकारका कारण मारिएका छैनन् ।
कडा सुरक्षा, संरक्षणमा लागेका युवालगायत समुदायको सहयोगले लामो समयदेखि बर्दिया निकुञ्ज चोरी सिकार शून्य बन्दै गएको प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो।
१५ वर्ष अघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा चोरी सिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सर्वत्र आलोचना खेप्दै आएको थियो । सन् १९८४ मा पहिलो पटक चितवन निकुञ्जबाट बर्दियाको गेरुवा र कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैँडा स्थान्तरण प्रक्रिया सुरु भएको थियो । त्यसपछि ७४ वटा गैँडा बबई उपत्यकामा छाडिएको थियो ।
विगत १५ वर्ष बर्दिया निकुञ्ज गैँडाका चोरी सिकार शून्य भएको प्रमुख संरक्षण अधिकृत रामको भनाई रहेको छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दा, संरक्षणकर्मी, चोरी सिकारी नियन्त्रण युवा दस्तालगायत निकुञ्ज र निकुञ्ज सुरक्षाका लागि तैनाथ सेनाको सहयोगले चोरी सिकार शून्य बनेको उहाँले जनाउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्