चितवनमा चैते दसैँमा हुने बिक्रमबाबा मेलाको तयारी शुरु

चितवन । हरेक बर्ष चैते दसैँमा शुरुहुने बिक्रमबाबा मेलाको तयारी शुरु गरिएको छ । बिशेषगरी थारु समुदायले मनाउँदै आउने यो मेलामा पछिल्ला वर्षहरूमा अन्य समुदायको पनि आस्था बढ्दै गएकोले यसपटक फरक ढंगले सञ्चालन गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने मेलामा हरेक बर्ष देशभरबाट लाखौँ भक्तजन आउने गर्छन् । भरतपुर महानगरपालिकाले विक्रम बाबा मेलालाई नयाँ र फरक ढङ्गबाट सञ्चालन गर्नको लागि भरतपुर– २३ मा रहेको घैलाघारी सामुदायिक वन, केरुङ्गा उपभोक्ता समिति, क्लब तथा टोल विकास संस्थाहरूसँग समन्वय र सहकार्य गरिरहेको छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष पनि चैत २६ गते कृष्ण औँसीको दिनदेखि शुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।
मेलालाई सफल बनाउन नगर उपप्रमुख चित्र सेन अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने भरतपुर– २३ का वडा अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा ७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।
मेलालाई सभ्य, भव्य, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरी काम शुरु भइसकेको अधिकारीले जानकारी दिनुभयो । मुल समारोह समितिका संयोजक एवं नगर उपप्रमुख चित्र सेन अधिकारीले भन्नुभयो ,‘महानगरपालिका यस पटकदेखि विक्रम बाबा मेलालाई महानगरको ब्रान्डको रुपमा स्थापित हुने गरि लैजान चाहन्छ ।’
‘धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्नु हामी सबैको दायित्व हो ।’ उहाँले भन्नुभयो ।
महानगरपालिकाले मेला सञ्चालन अवधिभर आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरु मेला स्थलमा लैजान शुरु गरिसकेको छ । यस्तै मेला परिसरमा वडाको समन्वयमा सचिवालय गठन गरेर काम गर्न शुरु गरिसकिएको मेला कार्यसम्पादन समितिका संयोजक एवं वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।
मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिने भएको छ । भक्तजनहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स,भइपरी आउने दैवी प्रकोप तथा उद्धार को लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रम बाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गर्नेछ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिने छ ।
सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रम बाबाको पूजा गर्ने गरेको पाइन्छ । यहाँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने, पूजा गर्ने र पशुपंक्षी वली दिने प्रचलन रही आएको छ ।








प्रतिक्रिया राख्नुहोस्