चरण र किनमेलको लागि तिब्बत प्रवेशको पास खोज्दै लप्चीवासी

दोलखा । तिहार ताका आपसी सहमतिमा अनौपचारीक रुपमा खुला गरिएको चीनसँगको सिमाना दोलखाको लप्ची– रामुदिङ नाका प्रवेशको लागि चीन सरकारले पास खोज्न थालेपछि लप्चीका स्थानीय जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन् ।
कोरोना महामारी पछि झण्डै चार बर्ष बन्द रहेको चीनसँगको लप्ची– रामुदिङ नाका आपसी सहमतिमा गत असोज ११ गतेबाट अनौपचारीक रुपमा खुला गरिएको थियो स्थानीय फुर्वा शेर्पाले बताउनुभयो- त्यतिबेला लप्चीका स्थानीयले नुन, तेल, चामल, चाउचाउ जस्ता केही आवश्यक सरजाम किनमेल गरेको र आफूसँग भएका चौँरीको घ्यु, छुर्पी, चौँरीको बाच्छा लगायत बिक्री गरेका थिए । तर अहिले चिनिया पक्षले पास खोज्दै नाका प्रवेशमा कडाइ गरेपछि आवश्यक सरजाम किनमेलसँगै चौँरी चरणमा समेत समस्या भएको फुर्वाले गुनासो गर्नुभयो ।
अनौपचारीक रुपमा नाका खुला भएको बेला लप्चीका स्थानीयले चिनिया सरकारलाई चार बर्षकै चौँरी चरण बापतको शुल्क तिर्नुपरेको तर अहिले पुनः पास खोज्दै नाकामा कडाइ गरेपछि समस्या भएको फुर्वाको भनाई छ ।
चौँरी चरणको लागि नेपाल पट्टी पर्याप्त चरण क्षेत्र नभएको र चौँरीको दुधबाट उत्पादित घ्यु, छुर्पी लगायतका परीकार तथा चौँरीको बाच्छा बिक्री गर्न पनि नेपालपट्टी सम्भव नभएकोले लप्ची– रामुदिङ नाका बन्द हुँदा धेरै समस्या हुने गरेको लप्ची टोल समितिका अध्यक्ष वाङ्चुक शेर्पाले बताउनुभयो ।

नेपाल पट्टी लामाबगर हुँदै चामल, तेल, नुन लान आर्थिक हिसाबले साह्रै महँगो हुने भएकोले पनि लप्ची–रामुदिङ नाका प्रवेशको लागि पास अनिवार्य भएको वाङ्चुकले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले तत्काल पास बनाइदिए लप्चीको जनजीवन निक्कै सहज हुने उहाँको भनाई छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर १ मा पर्ने लप्चीमा आफ्नै वडाको लामाबगरबाट लगिने एक पकेट नुनको एक सय ६० रुपैयाँसम्म पर्ने र सबैभन्दा सस्तो ३० केजीको एक बोरो चामललाई छ हजारसम्म पर्ने वाङ्चुकको भनाई छ ।
तर लप्ची–रामुदिङ नाका हुँदै चीनको छुप्साङबाट सामान ल्याउँदा नुन एक पोकाको बढीमा ४०/५० रुपैयाँमात्रै पर्ने स्थानीय फुर्वा बताउनुभयो । चामल, तेल लगायतका सामान पनि छुप्साङबाट ल्याउँदा निक्कै सस्तो पर्ने उहाँले बताउनु भयो । लप्चीबाट रामुदीङ हुँदै छुप्साङ पुग्न झण्डै डेढ घण्टा लाग्ने फुर्वाले बताउनु भयो । पास भएपछि चीन सरकारले टाँसिघाङसम्म जान दिए झन सस्तोमा सामान पाउन सकिने लप्चीका स्थानीय बत्ताउँछन् । टाँसिघाङ पुग्न छुप्साङबाट बसमा एक घण्टा लाग्ने फुर्वाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लप्ची बासिलाई पास वितरण गर्न सबै प्रक्रिया पुरा भई सकेकोले अब एक हप्ता भित्रै पास वितरण गरिने बताउनु भयो । हामीले पास वितरणको लागि आवश्यक प्रक्रिया र पासको नमूना सहित आधिकारिकताको लागि परराष्ट्र मन्त्रालय र चीन सरकारलाई पठाउने तयारी गरेका छौ प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो, दुबईतिरबाट सहमति आउनसाथ लप्चीमै पुगेर पास वितरणको व्यवस्था मिलाउने छौ । नीतिगत रुपमा भने गृहमन्त्रालय र चीन सरकारले पास वितरणको अनुमति दिईसकेको स्थानीय प्रशासनले जनाएको छ ।
दोलाखसंग तिब्बतको सिमानामा ५५ देखी ६१ नम्बरसम्मको पिलर रहेको छ । त्यसमा लप्ची– रामुदिङ नाका ५५ र ५६ नम्बरको बीचमा पर्ने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्