‘प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ’
सिरहा । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व परिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकास मात्र नभई चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीय स्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको उहाँले बताउनुभयो ।
“यहाँका विद्यालयले स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी बालबालिकालाई युग सुहाउँदो शिक्षा प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा संवर्द्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ, जहाँ हाम्रा सन्तति र कर्णधारको भविष्य सुरक्षित हुनेछ ।”
उहाँले तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न अपरिहार्य रहेको बताउनुभयो ।
सात दशकभन्दा बढी लामो समयसम्म स्थानीय स्तरमा सहज र सरल रूपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक लगायतका क्षेत्रमा पुर्याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गर्नुभयो ।
हीरक जयन्तीका अवसरमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरू तीनै जना यही विद्यालयका पूर्व विद्यार्थी तथा दाता परिवारका सदस्य समेत हुनुहुन्छ ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले दुई दर्जन जग्गादाता र पूर्वविद्यार्थीलाई समान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्