विश्व प्रसिद्ध क्यान्सर विशेषज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
जनकपुरधाम । विश्वमा क्यान्सर रोगको उपचारमा आएको नवीनतम प्रविधि तथा प्रक्रियाका विषयमा विश्वका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञहरूको सहभागितामा जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

अमेरिकामा रहेको विनय तारा फाउण्डेशनको आयोजनामा भएको सम्मेलनमा क्यान्सर रोगको उपचार गर्दा आउने समस्या, उपचारपछि निको हुने दर, मृत्युका कारण तथा उपचारमा भएका जटिलताको विषयमा चिकित्सकहरूले आ–आफ्नो अनुभव साटासाट गर्नुभयो ।
विश्वका लागि चुनौतीका रुपमा नसर्ने रोगको रुपमा रहेको क्यान्सर रोगका कारणले वर्षेनी रुपमा लाखौँ व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा क्यान्सर रोगीको सङ्ख्या वर्षेनी रुपमा ३० हजार थपिने र २० हजारको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।
नेपाल, भारत तथा अमेरिकाका करिब ३० जना विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन भएको हो ।

अमेरिकामा २० वर्षदेखि क्यान्सरको उपचार तथा अनुसन्धानमा सक्रिय रहनुभएका विनय तारा फाउण्डेशनका अध्यक्ष एवं डा. विनय साहको संयोजनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राजीव गान्धी क्यान्सर अस्पतालका विज्ञ डा. दिनेश बुरानी, अमेरिकाका डा. डेविड एब्युलाफिया, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक डिन प्राध्यापक डा. अभिमन्यु झा, प्राध्यापक डा. अञ्जन श्रेष्ठ, पाटन अस्पतालका डा.अरुण शाहीले क्यान्सरका विभिन्न विषयहरूमा धारणा राख्नुभएको थियो ।
मूलतः नेपालसहित विश्वमा नै फोक्सो, नाक, कान, घाँटी, मुख तथा पिसाब थैली एवं महिलामा स्तन बढी क्यान्सर देखिने गरेको छ । नेपालमा ४० वर्षपछि मान्छेहरूमा क्यान्सर रोग देखा पर्ने गरेको अनुसन्धानले देखाएको छ ।
क्यान्सर लाग्नुको प्रमुख कारणमा शारीरिक परिश्रम कम गर्नु, मोटोपन बढ्नु, विलासी जीवनशैली जिउनु तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई लिने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्