राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन : उपप्रधानमन्त्री महासेठ
रुपन्देही । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देशमा राजनीतिक स्थायित्व दिनका लागि नयाँ गठबन्धनको सरकार बनेको बताउनुभएको छ ।

बढ्दो आर्थिक संकट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको उहाँले बताउनुभयो । बुटवलमा शुक्रबारदेखि शुरु भएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १६ औँ सम्मेलनमा उहाँले मुलुकको समृद्धिको एकल सरोकारलाई लिएर अहिलेको सरकार बनेको जनाउनुभयो ।
नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि स्पष्ट योजनाका साथ सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने मन्त्री महासेठले बताउनुभयो ।
‘भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल सहितका ठूला आयोजना निर्माण भएर पूर्ण सञ्चालन हुन सकेका छैनन्, निजी क्षेत्रले यसको आशामा ठूलो लगानी गरेको छ, सरकारको लगानी पनि उसै गरी फसेको छ, त्यसैले अब सरकारले यी आयोजनालाई यथाशक्य छिटो सञ्चालन र पुनर्निर्माणको योजनाका साथ अघि बढ्नेछ’ मन्त्री महासेठको भनाइ थियो ।
देशको आर्थिक अवस्थालाई ट्र्याकमा ल्याउने र जनतामा बढेको निराशालाई कम गर्ने अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उहाँले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारमा साथ दिन निजी क्षेत्र र सामाजिक सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भुटानका २ हजार रोटरियनहरु बुटवलमा जम्मा भएको सम्मेलन आयोजक समितिका संयोजक एजाज आलमले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्