तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले आज मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ । 

यस्तै, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सव इन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पाण्डेविरुद्ध रु १४ लाख १७ हजार बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध रु १२ लाख ३६ हजार र सव इन्जिनियर भीमबहादुर रोकायाविरुद्ध रु एक लाख ९१ हजार बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button