काँग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

विराटनगरको गुराँस पुस्तकालयको ५४ औँ वार्षिक स्थापना कार्यक्रम पुस्तकालयद्वारा प्रकाशित वरगाछी स्मारिकाको विमोचन गर्नुहुँदै उहाँले काँग्रेसले कडा रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन नगरेसम्म मुलुकमा सत्ता गठबन्धन फेरबदल भइरहने र राजनीतिक अस्थिरता कायम रहिरहने उल्लेख गर्नुभयो ।
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि गुराँस पुस्तकालयको स्थापना भएकाले मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भइसकेको अवस्थामा अब पुस्तकालयले लोकतन्त्रलाई सुदृढ बनाउन भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पुस्तकालयका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस विराटनगर महानगरका सभापति दिपक चापागाँइले पुस्तकालयको महत्वका विषयमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा स्मारिका लेखक, प्राज्ञ तथा साहित्यकार दधिराज सुवेदीलाई दोसल्ला ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा मुक्तिप्रसाद तथा यदुनाथ चापागाँइ पुरस्कारबाट वरिष्ठ समाजसेवी दिनबन्धु गोयल तथा राजनीतिज्ञ पीताम्बर दाहाललाई कदर पत्र तथा नगदसहित सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्