तपाईँ सुन्दै हुनुहुन्छः

३ प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो ।

मन्त्री शर्माले प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेकोले केन्द्र र प्रदेशको राजनीतिक सहजता र समान राजनीतिक दृष्टिकोण कायम राख्न नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको बताउनुभयो ।

यस्तै, मन्त्रीपरिषद् समितिहरूको समन्वय आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघविर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले गर्ने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

बैठकका निर्णयहरू :

१, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी देहायका व्यक्तिहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने:

क, श्री सुमित्रा भण्डारी– मधेश प्रदेश

ख, श्री डिल्लीराज भट्ट– गण्डकी प्रदेश

ग, श्री नजिर मियाँ– सुदूरपश्चिम प्रदेश

२, मन्त्रिपरिषद्का समितिहरू गठन गरी समितिहरूको समन्वय गर्न देहायबमोजिम संयोजक तोक्ने:

क, राजनीतिक समिति– सम्माननीय प्रधानमन्त्री

ख, आर्थिक पूर्वाधार समिति– माननीय उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री

ग, विधेयक समिति– माननीय उपप्रधानमन्त्री, गृह मन्त्री

घ, प्रशासन समिति– माननीय उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री

ङ, सामाजिक समिति– उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

प्रतिक्रिया राख्नुहोस्

Back to top button