अपाङ्गता भएका महिलाहरूको पहिलो सम्मेलनबाट १४ बुँदे घोषणापत्र जारी

काठमाडौँ I अपाङ्गता भएका महिलाहरूको पहिलो राष्ट्रिय सम्मेलनले १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
‘मलाई पनि तिमीसँगै गणना गर: मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ काठमाडौमा भएको सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो ।
सम्मेलनको समापन समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका लागि आयोगले काम गरिरहेको र उनीहरूको हक हितका लागि बनाइएका ऐनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
अपाङ्गता भएका महिलाहरूको विविधता, अन्तरसम्बद्धता सवाल, अर्थपूर्ण सहभागिता र न्यून प्रतिनिधित्व तथा सीमान्तकृत अपाङ्गता भएका महिलाहरूको सवाल एवं समस्याहरूको पहिचान गरी सोको सम्बोधनका लागि नीति निर्माणमा निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायहरूलाई दवाव दिने उद्देश्यले सम्मेलन भएको थियो ।
राष्ट्रिय योजना आयोगले तयार गरेको ’लिभ नो वन बिहाइण्ड’का सन्दर्भ नेपाल ढाँचा प्रतिवेदन २०२३ मा यस दृष्टिकोणको अवलम्बनको आवश्यकतालाई उल्लेख गरिएको घोषणापत्रमा उल्लेख छ ।
नेपालका तीनै तहका सरकारले अन्तरविविधता/अन्तरच्छेदीय दृष्टिकोणको कार्यान्वयनका लागि कानुन तथा नीति तर्जुमा गरी कार्यान्वयनको सुनिश्चितता गर्न गराउन माग गर्दछौँ घोषणापत्रमा भनिएको छ ।
यसै गरी विद्यालयका पाठ्यक्रममा अपाङ्गता सम्बन्धी विषयलाई समावेश गर्दै शिक्षाबाट वञ्चित गरिएका अपाङ्गता भएका महिलाहरूको लागि “स्कुल– आउट टिच“ जस्ता कार्यक्रम ल्याउने र अपाङ्गता भएका महिलाहरू र किशोरी, अभिभावकलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी तालिम दिनुपर्ने घोषणापत्रमा माग गरिएको छ ।
सात वटै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका प्रतिनिधि गरी १ सय २० जना बढी सम्मेलनमा सहभागी भएका थिए ।
सम्मेलनमा महिला र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका दलित महिला सङ्घ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला सङ्घ नेपाल, नेत्रहीन महिला सङ्घ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।








प्रतिक्रिया राख्नुहोस्