गोर्खा वारियरको पोखरामा प्रिमियर शो, दर्शकको प्रशंसा

पोखरा । गोर्खा वारियरको पोखरा रेड कार्पेट प्रिमियर शो सम्पन्न भएसँगै दर्शकहरूबाट प्रशंसा पाएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो निकै तामझामका साथ ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गर्नु भयो ।
७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको बताउँदै उपसभामुख थापाले उनले गोर्खा वारियर नेपालीको पहिचान भएको दाबी गर्नु भयो । सिनेमाको कथावस्तुले धेरैको मन छुने उहाँको भनाई थियो । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम) ले सबै नेपालीले हेर्नुपर्ने सिनेमा बनेको जनाउनु भयो । किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृत बहादुर सुनुवारले गोर्खालीको इतिहास बुझाउन पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रिमियर शो हेर्न आएका रिटार्यड ब्रिटिस आर्मी रुकमान गुरुङले गोर्खालीको बहादुरी सँगै परिवारको कथालाई समेत जोडिएको हुँदा सिनेमाले मन छोएको बताउनु भयो । गुरुङ सिनेमा निर्देशक कृष्ण कुमार गुरुङले गोर्खा वारियर विश्वले हेर्ने सिनेमा बनेको प्रतिक्रिया दिनु भयो ।

नायक रितेस चाम्सले प्रीमियर शोमा पोखरेली दर्शकको माया पाउँदा आफु निकै खुशी भएको अनुभव सुनाउनु भयो । दर्शकको साथमा बसेर सिनेमा हेरिरहँदा कतिको आँखामा आँसु देखेको र सिनेमाको कथावस्तुलाई रुचाएको पाइएको उहाँको भनाई छ । नायिका रेविका गुरुङले भावुक हुँदै पोखरा प्रीमियर शोमा अथाह माया पाएको बताउनु भयो । सिनेमा रिलिज भइसकेपछि पनि विश्वभरका दर्शकको माया प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
फागुन ११ गतेबाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गर्नु भएको थियो । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय रहेको छ । सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गर्नु भएको छ । सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्वन्द्व निर्देशन हिमाल केसीले गर्नु भएको छ । सुमन राई सिनेमाका निर्माता हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्