सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

बाँके । सुशील कोइराला मेमोरियल अन्डर–१९ राष्ट्रिय टि–ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।
बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित गर्यो ।
कोहलपुर क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाइन्।
सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन योगदान दिइन्। प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन्। कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाइन्।
यस अघि टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो।
कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिइन् । ओपनिंग ब्याटिङ गर्दै अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाइन्। रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाइन्।

सुदूरपश्चिमको बलिङमा अनु कडायत र स्नेहा महराले २र२ विकेट लिए। अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन्।
उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता कोहलपुर मेयर–११ ले पचास हजार रुपैयाँ पायो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी कोहलपुर मेयर(११ कि कप्तान सना प्रविन घोषित भइन् जसले १५ हजार रुपैयाँ हात पारिन्।
उत्कृष्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृष्ट ब्याटर कोहलपुर मेयर–११ कि सना प्रविन घोषित भइन् जसले समान ५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भइन्।
समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नु भयो।
६ दिन चलेको प्रतियोगितामा कोहलपुर मेयर–११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्