तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली करिडोर प्रगतीबारे समितिको चाँसो

काठमाडौँ । नेपाली सेनाले कर्णाली करिडोर निर्माणमा भईरहेको प्रगतिबारे संसदको बिकास तथा प्रविधि समितिलाई जानकारी गराएको छ ।

समितिमा कर्णाली करिडोर सडक निर्माणका विषयमा आज भएको छलफलमा नेपाली सेनाले कर्णाली करिडोरमा जिम्मा पाएको एक सय २३ किलोमिटर सडकको ९१ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएको छ ।

नेपाली सेनाले यसै आर्थिक बर्षभित्र बाँकी ११ किलोमिटर सडक निर्माण कार्य सक्ने गरी काम भईरहेको र अप्ठेरो पहरोमा गरिएको रेखाङ्कनलाई परिवर्तन गरी कर्णालीको किनार बाटै सडक निर्माण गर्ने व्यवस्था गर्न सके ४.५ किलोमिटर दुरी कम पर्ने र काम गर्न अझै सहज हुने जनाएको छ ।

सांसदहरुले नेपाली सेनाले निर्माण गरिरहेका काम सन्तोषजनक रहेको भन्दै रेखाङ्कन परिवर्तन गर्न र सेनाले सडक निर्माणका लागि थप माग गरेको रकम समयमा नै उपलब्ध गराउने व्यवस्था गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

सांसदहरुले हुम्ला जिल्ला सडक सञ्जालमा जोडिएपनि सदरमुका जोड्न सडक बिभागमार्फत भईरहेको काममा भने ढिलाई भईरहेकाले छिटो गरी सम्पन्न गर्न ध्यान दिनु पर्ने बताउनुभयो ।

बैठकमा सडक विभागका महानिर्देशक केशबकुमार शर्माले मौसमलगायतका कारण निर्माण सामग्री लैजान केही ढिलाई भएकाले काम नभएको जस्तो देखिएपनि दुई वटा कम्प्रेसर मेसिन खरिद भईसकेकाले दशैँसम्ममा निर्माण कार्य सक्नेगरी काम भईरहेको जानकारी दिनुभयो ।

बैठकमा नेपाली सेनाका बलाध्यक्ष गौरब तण्डुलले नेपाली सेना दिएको काम गर्न प्रतिबद्ध रहेको भन्दै सडक विभागमार्फत निर्माण भईरहेका सडकहरुमा समेत बिस्फोटक पर्दाथ लैजान र काममा सहयोग गर्न नेपाली सेना सधै तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button