धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधार शिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका–७ चिम खोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।
होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गमा जाने पर्यटकलाई सहज हुने भएको छ । “पदमार्ग सञ्चालनमा आए पनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकलाई समस्या थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधासहित होटल सञ्चालनमा ल्याइएको छ, यसलाई थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्ने लक्ष्य राखेको छु”, सञ्चालक पाइजाले भन्नुभयो ।
समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको यस ठाउँबाट धौलागिरि हिमाल र सेतिनी झरनाको मनोरम दृश्य अवलोकन गर्न समेत सकिन्छ । यसअघि होटल सुविधा नहुँदा पर्यटकहरू खाना र बसोबासका लागि क्याम्पिङ बन्दोबस्तसहित जानुपर्ने बाध्यता थियो ।
टोड्के–धौलागिरि पानोरम पदमार्गको खोजी र प्रवर्द्धनका लागि आउनुभएका ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले सेतिनी भ्यालीको होटेलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्