तपाईँ सुन्दै हुनुहुन्छः

‘लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरङ्कुशताका विरुद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिनुभयो ।

नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आआफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभयो ।

प्रकृतिको सम्मान स्वरूप पूजापाठ गर्ने, आफ्नो पितृलाई सम्झने–पुज्ने र चेलीबेटीलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।

माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमण पूर्व प्रकृतिमा पाइने तरुल, भ्याकुर, कन्दमूल जस्ता परिकार खुवाउने, आशीर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व रहेको उहाँको कथन छ । सोही यथार्थलाई सम्बोधन गर्न आफ्नो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरेको समेत उहाँले स्मरण गर्नुभयो ।

प्रधानमन्त्री दाहालले माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्ने बताउनुभयो ।

कार्यक्रममा मगर समुदायका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button