तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलका थारु समुदायले मनाए खिचडी महोत्सव

बुटवल । थारु समुदायको नयाँ वर्ष ‘२६४७’ एवं माघी पर्वको पूर्व सन्ध्यामा बुटवलका थारु समुदायले माघी (खिचडी) पर्व मनाएका छन् । थारु समाज बुटवलको आयोजनमा शनिबार थारु जातीय संस्कृति झल्किने भेषभुषा, खाना र विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव मनाएका हुन् । 

थारु जातीको भाषा, संस्कृति र भेषभुषा लोप हुन लागेकाले यसको जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको थारु कल्याणकारी संघका अध्यक्ष कल नारायण थारुले जानकारी दिनु भयो । थारु समुदायको आफ्नै मौलिक संस्कृति भए पनि पछिल्लो समय पश्चिमा देशको संस्कृति भित्रिएको थारु संस्कृति ओझेलमा परेको भन्दै उहाँले यसको संरक्षणमा राज्यले पहल गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले थारु संस्कृतिको प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनु भयो । उहाँले नेपालका थारु समुदायको संस्कृति उत्कृष्ट रहेको भन्दै थारु भाषालाई नगर वडापत्रमा समेत उल्लेख गरिने जानकारी दिनु दिनु । उपप्रमुख पाण्डेले थारु समुदायको मयुर नाचलाई प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगमा तालिमको ब्यवस्था गरिने उल्लेख गर्नु भयो । 

सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपाल अनेकतामा एक रहेको भन्दै थारु जातीका संस्कृति सबै नेपालीका आफ्नै संस्कृति रहेको धारणा ब्यक्त गर्नु भयो । सबै जातजातिका आ–आफ्नै धर्म र संस्कृति भएता पनि संरक्षणका अभावमा कैयौँ जातीका संस्कृति लोप भइसकेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफ्नो संस्कृति जगेर्ना गर्न स्वयं जाती र समुदायले पहल गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘सबै जातीले सबै जाती र समुदायका चाडपर्वलाई सम्मान गर्नु गर्दै सबै एक भएर राष्ट्रनिर्माणमा लाग्नु पर्छ ।’

कार्यक्रममा अधिवक्ता नरसिंह चौधरीले थारु जाती राज्यका हरेक सेवा सुविधाबाट बञ्चित रहेको उल्लेख गर्नु भयो । थारु जाती भूमि पुत्र भएता पनि भूमिमा थारु जातीको अधिकार नभएको भन्दै उहाँले राज्यले थारु जातीलाई विशेष अधिकार दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा रुपन्देहीका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहित आएका थारु समुदायको बाक्लो उपस्थिति थियो । थारु जातीका पहिचान झल्किने भेषभुषा र खानाका परिकारमा अन्य जाती र समुदायका व्यक्तिहरू समेत रमाइरहेका थिए । 

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।   

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button