स्थानीय उत्पादनलाई बजारीकरण गर्न बेनीमा माघे सङ्क्रान्ति मेला हुने

म्याग्दी । स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गराउन सदरमुकाम बेनीमा माघे सङ्क्रान्ति मेला आयोजना गरिने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा यही पुस २९ देखि माघ २ गतेसम्म माघे सङ्क्रान्ति मेला आयोजना हुन लागेको हो ।
माघे सङ्क्रान्ति पर्वको रुपमा परम्परागत रुपमा बेनीमा आयोजना हुने मेलालाई जगेर्ना गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन दिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाको तयारीको सन्दर्भमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति श्रेष्ठले उद्योग वाणिज्य संघ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न संघ संस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको बताउनुभयो । उहाँका अनुसार, मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकासँगको सहकार्यमा कृषि मेला प्रदर्शनी समेत गरिनेछ ।

मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षणको रुपमा समावेश गरिएको छ ।
खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्धनिसान र महिला पुरुषको लठो तान्ने र छेलो फाल्ने लगायतका प्रतियोगिता समेत मेलामा समावेश गरिएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, संघ संस्था र समूहको पहिचान झल्कने झाँकी प्रदर्शनी सहित स्थानीय र राष्ट्रिय कलाकारहरूको साङ्केतिक प्रस्तुती समेत रहनेछ ।
मेलालाई सफल बताउन विभिन्न २२ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिइएको महिला उद्यम विकास समितिले जनाएको छ ।
बेनीमा वर्षौँदेखि सञ्चालन हुँदै आएको माघे सङ्क्रान्ति मेलाको निरन्तरता सँगै कला र संस्कृतिको संरक्षण र व्यापार व्यवसाय सँगै पर्यटन प्रवद्र्धनमा माघे सङ्क्रान्ति मेलाले सहयोग पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
उहाँले मेला आयोजना हुने खुलामञ्चमा यस पटक म्याग्दीका व्यवसायी र उद्यमीहरूको मात्रै स्टल रहने समेत जानकारी दिनुभयो ।
परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि वि.स. २०५७ सालदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव एवम् मेलाको रुपमा माघे सङ्क्रान्ति मेलालाई निरन्तरता दिँदै आएको छ ।
बेनीमा हरेक तीन वर्षमा म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव तथा अन्य वर्षहरूमा महिला उद्यम विकास समितिको आयोजनामा मेला एवम् सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्