तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

पोखरा । पोखरामा हुने चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । 

पोखरा रंगशालाको भलिबल कोर्टमा लिगकम नकआउटका आधारमा हुने उक्त खेलमा विजेता टिम(पुरुष तथा महिला) लाई जनही ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । यस बर्ष प्रथम पुरस्कारमा ५० हजार वृद्धि भएको हो । उपविजेता पुरुष तथा महिलाको टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने भएको छ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद २५/२५ हजार ५ सय ५५ अन्य विधागत उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार ५ सय ५५ प्रदान गरिने भएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला ६/६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फ श्रीलङ्काको आर्मी टिम र महिला तर्फ भने भारतको हरियाणा पुलिस क्लब सहभागी हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपाल कास्कीका अध्यक्ष नारायण शर्माले बताउनु भयो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष उक्त प्रतियोगितामा गण्डकी प्रदेशले महिला तथा पुरुष तर्फ सहभागी हुने भएको छ । त्यसै गरी नेपालका तीन विभागीय टोली नेपाल पुलिस, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी वलको एपिएफ क्लबले महिला तथा पुरुष तर्फ सहभागी हुने भएका छन्। त्यस्तै पुरुष तर्फ हेल्प नेपाल स्पोट्र्स क्लब सहभागी हुने भएको छ भने महिला तर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष शर्माले बताउनु भयो ।  

उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको प्रतियोगिताका संयोजक दीपक कार्कीले बताउनु भयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च लाग्ने उहाँले जनाउनु भयो । 

नेपाल भलिबल सङ्घको स्वीकृति, सुश्री मिडिया प्रा.ली वानेश्वर काठमाडौँको समन्वय एवं मुख्य मन्त्रीको कार्यालय गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगर पालिका, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल पोखरा, ग्रिन सिटी हस्पिटल काठमाण्डौं, रोड शो इन प्रा.ली अन्नपूर्ण केबुलकार, मनकामना केबुलकार, प्रभु बैङ्क, बतास अर्गनाईजेसन, माछापुच्छ्रे बैङ्क, मुक्तिनाथ विकास बैङ्क, केल्मी नेपाल काठमाडौँको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button