तपाईँ सुन्दै हुनुहुन्छः

स्वचालित पेसी तारेखले अदालतप्रतिको विश्वास बढ्ने : प्रधानन्यायाधीश श्रेष्ठ  

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतहरूमा लिइने पेसी तारेख स्वचालित प्रणालीबाट सुरु गरेसँगै अदालतप्रतिको विश्वास थप बढ्ने बताउनुभएको छ । 

उच्च अदालत पाटनबाट देशभरका उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको प्रारम्भ गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले अदालतलाई पूर्णरुपमा प्रविधिमन्त्री बनाउँदा सेवाग्राहीलाई सहज हुनुका साथै अदालतप्रतिको विश्वास समेत बढ्ने बताउनुभयो । 

प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक इतिहासमा पहिलो पटक उच्च अदालतमा स्वचालित प्रणाली सुरु गरिएको बताउँदै आगामी दिनमा जिल्ला अदालतमा समेत स्वचालित प्रणाली लागू गर्नेबारे अध्ययन भइरहेको जानकारी दिनुभयो ।     

प्रधानन्यायाधीश श्रेष्ठले निकट भविष्यमा कानुन व्यवसायीहरूले आफ्नै ल फर्मबाटै मुद्दा दर्ता गर्न सक्ने प्रणालीको व्यवस्था गर्न गरिरहेको अध्ययन अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । 

प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा तारिख लिन जानु नपर्ने व्यवस्था गर्ने तयारी भइरहेको बताउँदै सर्वोच्च, उच्च अदालतमा अनलाइनबाट सुनुवाइ गर्ने व्यवस्था भइरहेको जानकारी दिनुभयो । 

सर्वोच्च अदालतले उच्च, विशेष र श्रम अदालत तथा वैदेशिक रोजगार न्यायाधिकरणमा पनि अनलाइन सुनुवाइ गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको छ । सात प्रदेशमा रहेका उच्च अदालत र अस्थायी इजलास गरी १८ वटा रहेका छन् । ती सबै अदालतमा आजदेखि स्वचालित प्रणालीबाट पेसी तारेख तोकिनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button