तपाईँ सुन्दै हुनुहुन्छः

समग्र राष्ट्रलाई उज्यालो बनाउने अभियान जारी : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकामा विद्युत् भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियान जारी रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको बुढानीलकण्ठ नगर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेकपा माओवादी सरकारको नेतृत्वमा रहँदा सधैँ जनपक्षीय काम गर्ने गरेको र त्यसैको निरन्तरता स्वरूप अहिले मुलुकलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानमा आफू लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशमा समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य काम हाम्रै पालामा भएका छन् । मैंले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु तर हामीले गरेका कामको जस लिन सकिरहेका छैनौँ ।”

प्रधानमन्त्रीले आफ्ना तीनवटै कार्यकालमा महत्वपूर्ण काम भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताउनुभयो । माओवादीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनतासँगको सम्बन्धलाई विस्तारमा पार्टी लागेको बताउनुभयो ।

पार्टीको तीन महिने अभियानबाट जनआधार सुदृढ हुँदै गएको भन्दै आगामी फागुनमा विधान अधिवेशन गरेर पार्टीलाई नयाँ ढङ्गले अघि बढाइने पार्टी अध्यक्ष दाहालले बताउनुभयो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबाट सञ्चालित तीन महिने अभियानले जनतामा नयाँ ऊर्जा सञ्चार गरेको बताउनुभयो । जनस्तरबाट उठेका मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका निम्ति अनुभूत हुने गरी काम गर्न सुझाव दिनुभयो ।

त्यस अवसरमा स्थानीय बासीका तर्फबाट धोवीखोला नियन्त्रण लगायत नगर क्षेत्रका समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button