देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : मन्त्री महत
मकवानपुर । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ ।

हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उहाँले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्क पूर्वक लगानी गर्न आग्रह गर्नुभयो ।
मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबार समेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताउनुभयो ।
कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैङ्क र बीमा कम्पनीले तिर्न थालिसकेको उहाँको भनाइ थियो । सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताउनुभयो । जलविद्युत्, प्रविधिमैत्री कृषि, पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री डा महतले दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सबै लागे काँग्रेसले बहुमत ल्याउने उल्लेख गर्दै उहाँले एकता भाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सहकार्य र सहमतिका बीच सत्ता गठबन्धन गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, पार्टीका चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ, मकवानपुर सभापति बुद्ध लामा लगायतले धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्