संसदीय सुनुवाई समिति : प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ
काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ गरेको छ ।
समितिले आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाई गरेको हो ।
समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले विगतदेखिकै निष्ठा र इमानदारी कायम गर्ने बताउनुभयो ।
प्रस्तावित न्यायाधीश पौडेलले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै आफूले न्याय क्षेत्रमा ३० वर्ष काम गरेको र अब बाँकी साढे ६ वर्षको समय पनि निष्ठा र इमानदारीका साथ काम गर्ने बताउनुभयो ।
सुनुवाईका क्रममा सर्वोच्च अदालतका अर्का प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाले पुराना मुद्दाको शीघ्र फर्छ्यौटका लागि अदालतमा कार्यान्वयनमा रहेको योजना र रणनीति अनुरूप मुद्दा फर्छ्यौटको कार्यमा आफूलाई पूर्ण रुपमा समाहित गर्ने बताउनुभयो ।
प्रस्तावित न्यायाधीश ढुङ्गानाले न्यायपालिको रणनीतिक योजनाप्रति पुरै स्वामित्व भाव स्थापित गरी कार्यान्वयनमा हरसम्भव टेवा दिने कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायधीशहरुको नाम अनुमोदन गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका लागि नियुक्ति हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्