‘पुस्तक पढ्ने अभियान सञ्चालन गर्नुपर्ने समय आएको छ’
कास्की । पठन संस्कृतिको विकास गर्नेबारे पोखरामा छलफल सम्पन्न भएको छ ।
पोखराका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूले पठन संस्कृतिको विकास गर्न आवश्यक पुस्तकहरू समेत बजारमा सहज उपलब्ध नभएको गुनासो गरेका छन् । शिक्षाको विकास गर्न अभिभावकहरू नै पठन संस्कृतितर्फ लाग्न आवश्यक रहेको कतिपयको ठहर थियो ।

विद्यार्थीहरूलाई आफ्ना शैक्षिक सामाग्री मात्र अध्ययन गर्न लगाउने नभई हेर्ने किताब, सुन्ने किताब र देख्ने किताब पनि बालबालिकाहरूलाई आवश्यक रहेको पोखरा ८ सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्ताकोटी बताउनुहुन्छ ।
कार्यक्रममा सामुदायिक विद्यालयहरूमा पुस्तकालय व्यवस्थापन सहज नहुँदा शिक्षक र विद्यार्थी दुवैको पठन संस्कृति कमजोर हुँदै गएको रुपा गाउँपालिका, शान्ती माविका प्रअ रुपिन्द्र प्रभावी जोशीको भनाइ छ । ‘नीतिगत रूपमै विद्यालयहरूमा पुस्तकालय सञ्चालन र व्यवस्थापन गर्न नसके बिस्तारै पठन संस्कृति हराउँदै जान्छ ।’ बजारमा पनि बालबालिकाहरूका लागि उपयोगी पुस्तकहरूको अभाव रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा फूलबारी मन्टेश्वरीकी सञ्चालिका अरुणा शेरचनले घरमा बच्चाहरूले पढ्ने किताब अभिभावकहरूले नै पढ्न सुरु गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभयो । वडा टोलमा चल्ने खोप अभियान जस्तै पुस्तक पढ्ने अभियान सञ्चालन गर्नुपर्ने समय आएको उहाँले बताउनुभयो ।
केही अध्ययनहरूले कक्षा ६ देखि ८ सम्मका ६७ प्रतिशत विद्यार्थीहरूले आफ्नो नाम नेपाली र अङ्ग्रेजीमा शुद्ध लेख्न समेत नसक्ने देखाएकोप्रति सहभागीहरूले चिन्ता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्