तपाईँ सुन्दै हुनुहुन्छः

‘साहित्य, कला, संस्कृतिको संरक्षण विना देश समृद्ध हुन्न’

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालको भौगोलिक, जैविक विविधतासँगै सिर्जनात्मक विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम र शान्ति निकेतन हिन्दी प्रचार सभा पश्चिम बङ्गाल भारतको संयुक्त आयोजनामा जनकपुरधाममा शुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय साहित्य उत्सव २०२३ को उद्घाटन गर्दै विविध कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षणबिना कुनै पनि देशको विकास कठिन हुने बताउनुभयो ।

पूर्व राष्ट्रपति यादवले दुवै देशका भाषा, साहित्य, संस्कृति तथा भूगोलमा समानता रहेको चर्चा गर्दै यस्ता प्रकारको उत्सव ऐतिहासिक तथा धार्मिक महत्वको जनकपुरधाममा हुनु दुवै देशका लागि गौरवको विषय भएको बताउनुभयो ।

नेपालका लागि वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले हिन्दी, नेपाली, मैथिली तथा बङ्गालीका बीचमा समानता रहेको भन्दै यस्ता उत्सवले दुवै देशलाई जोड्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधामका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्र साहले वरिष्ठ साहित्यकार राजेन्द्र विमल, बङ्गालका साहित्यकार प्राध्यापक प्रणव भट्टोपाध्याय, प्रतिनिधि सभाका सदस्य रेखा यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, हिन्दीका प्रखर वक्ता रमण पाण्डे सहितका वक्ताहरूले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले नेपालका भाषातर्फ खुसीलाल मण्डल, साहित्यतर्फ रामस्वरुप ठाकुर, भाषातर्फ प्राध्यापक डा. आशा सिन्हा, साहित्यतर्फ शिवशङ्कर यादवलाई सम्मानपत्र, दोपटा तथा प्रतीक चिन्ह प्रदान गर्नुभएको थियो ।

भारतका तर्फबाट भाषातर्फ जाली बेगम, श्रीमती शावाना साजिद, श्रीमती धराश्वरी मेहन्ती, श्रीमती मिताली साङ्गक्रियांं र साहित्यतर्फ प्रदीप कुमार सिंहलाई पूर्व राष्ट्रपति डा. यादवले दोपटा, सम्मान पत्रसहित प्रतीक चिन्ह प्रदान गर्नुभएको थियो ।

सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button