पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैदको फैसला

कास्की । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेर धरौटीमा छाडिनु भएका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ ।
०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुटेका अधिकारीलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसला गरेको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिवाना भनिएपनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।
योसँगै अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडित महिनालाई क्षतिपूर्ति दिनुपर्ने छ । यसअघि जिल्ला जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत ०७९ पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनु भएको थियो ।
प्रहरीले वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालत कास्कीले पहिलो पटक ५ दिन र दोस्रो पटक १० दिन गरी २ पटक म्याद थप गरी अनुसन्धान गरेको थियो ।जाहेरीमा वडाध्यक्ष अधिकारीलाई पक्राउ गरी नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुर र सजाय ऐन, २०६८ बमोजिम कारबाही गर्न माग गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्