तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश: चाडपर्वको अवधिमा १५६ वटा दुर्घटना, २३ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशको १० जिल्लामा यो वर्षको चाडपर्वको अवधिमा १५६ वटा सवारी दुर्घटना भएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका कार्यालय हेटौँडाका अनुसार उपत्यका बाहेक बागमती प्रदेशको १० जिल्लामा दसैँ यता कार्तिक १ गतेसम्म १५६ वटा सवारी दुर्घटनामा परि २३ जनाको मृत्यु भएको छ ।

यस अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । यस्तै यस अवधिमा नियम विपरीत सवारी चलाउने ५९ हजार ७३२ वटा सवारी साधन कारबाहीमा परेको र सवारी कारबाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना रकम सङ्कलन भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बागमती प्रदेशका १० जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरेर सेवा प्रदान गरिएको छ । जसबाट कार्तिक १ गतेसम्ममा गुनासो तथा सुरक्षाको क्रममा बढी भाडा लिने ५८ वटा सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा खटिएको प्रहरी टोलीले अवैध ओसार पसार गरेको करिब १३ क्विन्टल चिनी र ९ लाख ४६ हजार ४२० बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको छ । यसै अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुलीमा खटिएको प्रहरी टोलीले ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटाका, आतसबाजी जस्ता पदार्थ बरामद गरेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार यसै अवधिमा ३०९ वटा कसुर दर्ता भएकोमा ११९ जना मानिसलाई पक्राउ गरिएको साथै जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, काभ्रे, नुवाकोट र सिन्धुलीबाट जुवा कसुरमा १०८ जना मानिस र १६ लाख ८९ हजार ५२९ रुपैयाँ बरामद गरि कानुन बमोजिम अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button