तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीका अधिकांश मासु पसल फोहर र अव्यवस्थित

नवलपरासी । पश्चिम् नवलपरासीमा रहेका अधिकांश मासु पसलहरूमा सरसफाइको मापदण्ड पालना नभएको पाइएको छ । सरसफाईमा उचित ध्यान नदिँदा यहाँ संचालित मासुपसलहरुबाट उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको अनुगमनका क्रममा पाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासीले शुक्रबार गरेको अनुगमनका क्रममा केही पसलहरूले खुला ठाउँमा मासु राखेर बिक्री गर्ने गरेको र फ्रिज सफा नगरी मासु राख्नेलगायत सरसफाईमा ध्यान नदिएको पाइएको हो । अनुगमन टोलीले मासु पसलसँगै माछा पसल र एग्रोभेट पसलको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही मासु पसलहरू सरसफाई राम्रो देखिए पनि स्वास्थ्यलाई हानी पुर्‍याउने अखाद्य वस्तु (रङ) प्रयोग गरेर राख्ने गरेको, पशु र पक्षीको मासुलाई छुट्टा छुट्टै राख्नु पर्ने भएपनि फ्रिजमा राख्दा सँगै राख्ने गरेको र लामो समयसम्म फ्रिजमा मासु राख्ने गरेको पाइएको विज्ञ केन्द्रका सूचना अधिकारी सुरेश प्रसाद मिश्रले जानकारी दिनुभयो ।

टोलीले सुनवल र बर्दघाट नगरपालिकाका १६ मासु पसल, ५ वटा एग्रोभेट र १ वटा मासु पसल गरी कुल २२ वटा पसलमा अनुगमन गरेको थियो । तीन प्रकृतिका पसलहरूमा गरेको अनुगमनका क्रममा केही पसलहरू नवीकरण नगरिएको र केही दर्ता बिना नै सञ्चालन भएको पाइएको हो । त्यस्तै पसल दर्ता एक व्यक्तिको नाउँमा रहेपनि अर्कैले पसल सञ्चालन गरेको पाइएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । केही एग्रोभेटहरु औषधि व्यवस्था विभागमा दर्ता गर्नु पर्ने भएपनि दर्ता बिना नै संचालन भइरहेको अनुगमनकाक्रममा भेटिएको थियो।

जिल्लामा ३९ मासु पसल, १२ माछा पसल र १९ वटा एग्रोभेटहरु दर्ता भई सञ्चालनमा रहेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । दर्ता बाहेक पनि जिल्लाका विभिन्न स्थानमा माछा र मासु पसलहरू सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

पदण्डविपरीत सञ्चालनमा रहेका पसलहरूलाई प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको पशुसेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । यसैबीच अनुगमनका क्रममा व्यवसायीहरूले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाट बजारमा खुलारुपमा माछा, मासु बिक्री गर्दा पनि अनुगमन नगरेको गुनासो गरेका थिए ।

खुलारुपमा सञ्चालन भएका माछा र मासु पसलहरूका कारण राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरेकाहरूलाई मारमा पारेको भन्दै त्यस्ता पसलहरू बन्द गराउन अनुगमन टोलीसँग व्यवसायीहरूले माग गरेका थिए ।जिल्लामा कहीँ कतै पनि आधुनिक खालको व्यवस्थित वधशाला छैन । बिक्री हुने गरेको मासु बिरामी वा स्वस्थ पशु पन्छीको हो/होइन भन्ने जाँच गर्ने पद्धति नहुँदा  उपभोक्ता मर्कामा रहेको देखिन्छ । 

जिल्लामा दैनिक रुपमा लाग्ने हाटबजारहरूमा समेत सरसफाइको ख्याल नगरी खुला रुपमा नै माछा मासु बिक्री गर्ने गरिएको उपभोक्ताको गुनासो छ । शुक्रवार घरेलु तथा साना उद्योग कार्यालय,स्वास्थ्य कार्यालय उपभोक्ता संरक्षण मञ्च लयागतले सामूहिक अनुगमन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button