तपाईँ सुन्दै हुनुहुन्छः

राहत वितरणमा देखिएका समस्या समाधान हुँदै गएका छन् : मन्त्री शर्मा

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत पुर्‍याउन तीन तहका सरकार क्रियाशील रहेको र राहत वितरणमा देखिएका समस्याहरू पनि समाधान हुँदै गएको स्पष्ट पारेको छ ।

हिजो बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भौगोलिक विकटताका कारण सुरुका केही दिनमा राहत पुर्‍याउन कठिनाइ भए पनि अहिले राहत सामग्री पुगिरहेको र स्थानीय सरकार मार्फत वितरण भइरहेको बताउनुभयो ।

file photo

मन्त्री शर्माले भूकम्प गएपछिका सुरुवाती दिनमा सरकारको ध्यान घाइतेहरूको उद्धार र उपचारमा केन्द्रित रहँदा राहत वितरणमा समस्या देखिए पनि उद्धारका काम सकिएपछि भने सरकारको सम्पूर्ण ध्यान राहत र पुनर्स्थापनामा केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री शर्माका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैङ्कबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जैविक विविधता एवं प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँचऔंले लगायतका अन्य जडीबुटी तथा रुख प्रजातिहरूको सङ्कलन, कटान, उपयोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहितको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहरबिच भगिनी सम्बन्ध स्थापना गर्न भरतपुर महानगरपालिकालाई स्वीकृति प्रदान गर्ने, मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गर्ने, विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यालयका लागि तराईमा ६ बिगाहा ८ कठ्ठा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिने, नेपाल र कतारबिचको युवा तथा खेलकुद सम्बन्धी समझदारी तथा नेपाल सरकार र जापान सरकारबीच हुने प्राविधिक इन्टर्न तालिम सम्बन्धी द्विपक्षीय समझदारी पत्र स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अजरबैजानको बाकुमा आयोजना हुने इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्सिङ द राइटस् एण्ड इम्पावरमेण्ट अफ वमन विषयक कार्यक्रममा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई स्वीकृत प्रदान गर्ने, अस्ट्रियाको भियनामा यही मङ्सिर १२ गते देखि १५ गतेसम्म आयोजना हुने ९१ औँ इन्टरपोल महासभामा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सहभागी हुन स्वीकृत दिने तथा संयुक्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनको आयोजनमा आगामी मङ्सिर २० गते देखि २२ गते सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कन्सर्टाइजिङ एक्सन्स टुवाट्र्स एग्रि–फुड सिस्टम ट्रान्सफरमेसन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदूत पदमा सनिल नेपाल (पाल्पा) लाई नियुक्तिका लागि सिफारिस गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दवाडीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पदमा सरुवा गर्ने र सहसचिव डा. हरिप्रसाद लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button