संविधान विरोधी तत्वविरुद्ध लाग्न सभापति देउवाको निर्देशन
बागलुङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान विरोधी तत्वविरुद्ध लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
काँग्रेस बागलुङको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले संविधान विरोधी तत्त्वलाई ठेगान लगाउनका लागि एक हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय आइरहेका अफवाहप्रति विश्वास नगर्न आग्रह गर्दै आगामी निर्वाचनमा पनि कांग्रेस ठूलो दल हुने बताउनुभयो ।

पार्टीभित्र उब्जिएका कतिपय असन्तुष्टिमा आफ्नो ध्यानाकर्षण भएको उहाँको भनाइ थियो । सभापति देउवाले संविधान कार्यान्वयनका लागि देशका प्रमुख राजनीतिक दलहरू मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा १ सय ५ जना ७५ वर्ष नाघेका ज्येष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुन जोशी, किरणराज पौडेल, मधु आचार्य, सरस्वती अर्याल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेल, पूर्व कार्यवाहक सभापति जगदीशचन्द्र उपाध्याय लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा शनिबार प्रशिक्षण छलफल लगायतका कार्यक्रम हुने सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्