तपाईँ सुन्दै हुनुहुन्छः

रिग र तिलाचन तालमा पर्यटकको चहलपहल

बागलुङ । शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारि छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेका छन् । 

दुवै ताल फरक फरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । तिलाचन तालले बागलुङ र रोल्पाको सिमाना पछि छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हुँदै यी तालमा पुग्न सकिन्छ । 

बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने लोकमार्गमै पर्छ । यहाँदेखि रिगताल १५ मिनेट र तिलाचन ताल ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । चिसो मौसम, सिरसिर हावा चलिराख्नु र शान्त वातावरण यहाँको विशेषता हो । करिब तीन हजार तीन सय मिटरको उचाइमा पर्ने रिग र तिलाचन ताल एउटै ‘रेन्ज’ मा पर्छन् । 

आधा दशक अगाडिसम्म सुनसान रहेका दुवै ताल अहिले पर्यटकको रोजाइमा पर्न थालेका छन् । यतिबेला चाडपर्वको बिदा छ । त्यसले गर्दा क्याम्पस, विद्यालय तथा विभिन्न सङ्घसंस्था बन्द छन् । यो समयमा यहाँ दैनिक एक सयबढी पर्यटक आउने गरेको पाइएको छ । पहिले गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रुपमा रहेका यी क्षेत्रमा अहिले दैनिक पर्यटक पुग्छन् ।

तीन वर्ष अगाडि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि मात्रै रिग र तिलाचन ताल चर्चामा आएका हुन् । रिग ताल पातीहाल्नेदेखि नजिक रहेको हुँदा बढी पर्यटक पुग्ने गरेका छन् भने तिलाचनमा केही कम पुगेका छन् । दुई वटै तालमा पहिले गोठालाले खानेपानी भर्ने गर्थे । बाह्रै महिना यहाँ फाट्टफुट्ट पर्यटक पुग्ने गरे पनि यो सिजनमा बढी आएको स्थानीय भीमबहादुर घर्ती मगरले बताउनुभयो । 

पन्ध्र दिनदेखि दैनिक दुई समयको हाराहारीमा यहाँ पर्यटक आउने गरेको उहाँको भनाइ छ । लोकमार्गमार्फत बढी पर्यटक गाडी तथा मोटरसाइकलमा आइरहेका घर्तीमगरले बताउनुभयो । पहिले आफूहरूले गाईभैँसी र भेडाबाख्रा चराउने बेला सुनसान रहेका रिग र तिलाचन ताल क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएको उहाँ बताउनुहुन्छ ।

“विसं २०३९र४० जति भयो मैले यस ठाउँमा बिताए, तर पहिले यहाँ पशुचौपाय र गोठालाबाहेक बाहिरी मान्छे आउँदैनथे, गोठाला पनि बर्खामा मात्रै बस्ने गर्थे तर अहिले देश विदेशका मान्छे आएर घुम्छन्, हामीहरूले पानी भर्ने तालमा फोटो खिच्ने, भिडियो बनाउने गर्छन्”, घर्ती मगरले भन्नुभयो, “हिउँद बर्खा जतिबेला पनि मान्छे आइराखेका छन्, ठाउँ पनि निकै राम्रो छ, दसैँ आउनुभन्दा पहिलेबाटै यहाँ मान्छे आउन थालेका थिए, अहिलेसम्म आइरहेका छन्, दिनदिनै यहाँ आउनेको सङ्ख्या बढी छ, चिसो ठाउँ छ र मान्छे घुम्न आएका छन्, यो देख्दा विकास भएको अनुभूति भएको छ ।”

रिग ताल मगर खाम भाषाबाट नामाकरण गरिएको हो । मगर भाषामा ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो गरेर जमेको भन्ने बुझाउँछ । त्यस्तै तिलाचन ताललाई गोठालाले पहिले ‘तिलाचन दह’ भन्ने गरिएको स्थानीय भीमबहादुर बताउनुहुन्छ । उहाँले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउनुहुन्छ । 

रिग तालसम्म पुग्नका लागि दुई वर्ष अगाडि नै निसीखोला गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ भने तिलाचन तालमा गोरेटोबाटो मार्फत पुग्नुपर्छ । रुकुम पश्चिमबाट घुम्न आउनु भएका विशाल विष्टले यो क्षेत्र निकै रमणीय भएको हुँदा आफू तेस्रो पटक आएको बताउनुभयो । 

तीन वर्षदेखि लगातार दसैँ तिहारको बिदामा यहाँ आएको भन्दै यसपटक १३ जनाको समूह घुम्न आएको बताउनुभयो । रिग र तिलाचन तालसँगै ढोरपाटनसम्म पुगेर फर्किने योजना बनाएर भ्रमणमा निस्किएको उहाँको भनाइ छ । लोकमार्ग कालोपत्रे हुनुपूर्व यी तालको नाम नै नसुनेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा फोटो तथा भिडियो भाइरल हुँदै गएको विष्ट बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “खलाङ्गाबाट तीन/चार घण्टामै आउन सकिन्छ, बाटो पनि निकै राम्रो छ, पहिले कच्ची बाटो हुँदा समस्या थियो, बागलुङतिर आइँदैनथ्यो, सडकको स्तरोन्नतिपछि यता आइराखेकै हुन्छ, यहाँको ताल घुम्न त म तीन पटक आएँ, ताल मात्रै होइन, यहाँको डाँडापाखा, जङ्गल र खोलाले पनि धेरैलाई आइराखौँ झैँ बनाउँदो रहेछ, बागलुङबाट त आउने नै भए, रुकुम तिरबाट पनि धेरै मान्छेहरू घुम्न आएको पाइयो ।” 

गुल्मीको रिडीदेखि घुम्न आउनुभएका भरत पुरीले गलकोटको गाईघाट झरना अवलोकन गरि बुर्तिबाङ बजार हुँदै रिग र तिलाचन ताल घुम्न आएको बताउनुभयो । करिब १२ जनाको समूह भएर पूर्वी रुकुमको कमल दहसम्मको यात्रामा हिँडेको भन्दै लोकमार्ग नजिकै रहेको हुँदा यी दुवै ताल अवलोकन गरेको उहाँको भनाइ छ । 

दुई वटै तालसम्म पुग्नका लागि सरोकारवाला निकायले सडक निर्माण गर्न र अन्य पर्यटन पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्नसके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने पुरीको भनाइ छ । रिग तालसम्म मोटरबाटो पुगेर सहज भए पनि तिलाचन तालसम्म पुग्नका लागि पातीहाल्नेदेखि पदमार्ग निर्माण गर्नसके पर्यटकलाई थप सहज हुने उहाँले बताउनुभयो ।

ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खलाको सहजरुपमा अवलोकन गर्न सकिन्छ । यहाँबाट बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ । आगन्तुक पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन् । यी तालमा पुग्न बागलुङ सदरमुकामदेखि गाडीमा साढे पाँच घण्टा, गलकोटबाट तीन घण्टा र बुर्तिबाङबाट एक घण्टामा पुग्न सकिन्छ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट करिब तीन घण्टा, पश्चिम रुकुमको सदरमुकाम खलङ्गा मुसिकोटबाट साढे चार घण्टा लाग्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button