फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनः निर्माण सुरु

कास्की I २०७२ सालको भूकम्पका कारण ढल्किएको पोखराको प्रमुख गन्तव्य स्थल फेवाताल बिचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ ।
भूकम्पले मन्दिर ३ इन्च दक्षिणतर्फ ढल्किएपछि जोखिम बढेको भन्दै पुनः निर्माण गर्न लागिएको हो । भूकम्पमा मन्दिर छेउको दुई वटा गोदाम कोठा दबेको छ । उक्त कोठाहरू पहिले नै हटाइएको छ । बिहीबार बिहान पोखरा महानगरका मेयर धनराज आचार्यले मन्दिर पुनः निर्माणको शिलान्यास गर्नु भएको हो ।

९ करोड लागतमा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । २ वर्षभित्रमा सबै संरचना निर्माण पूरा भइसक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनु भयो । उहाँका अनुसार अहिलेको स्वरूप कायम राख्ने गरी नयाँ संरचना निर्माण हुनेछ । ‘प्यागोडा शैलीमै कालीगढ मगाएर काम थालिएको हो ।

पुनः निर्माणका लागि पुरातत्त्व विभागले २५ लाख र बाँकी रकम मन्दिर व्यवस्थापन समितिले जुटाएको छ । वि।सं।१४६७ सालमा तालबाराही मन्दिर स्थापना भएको विश्वास छ । यसलाई पछिल्लो पटक २०१४ सालमा अहिलेको स्वरूपमा निर्माण गरिएको हो । मन्दिर पुनः निर्माण अवधिभरि बाहिरै पूजाको व्यवस्था मिलाइएको छ । शिलान्यास गर्दै मेयर आचार्यले पैसाको अभावमा पुनः निर्माण नरोकिने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्