तपाईँ सुन्दै हुनुहुन्छः

सौराहाको हात्ती प्रजनन केन्द्रमा पर्यटकको घुइँचो, एकैदिन पाँच हजार बढीले गर्छन् अवलोकन

चितवन । असोजसम्म सुनसान जस्तै भएको सौराहा चाडबाड सँगै सिजन शुरुभएपछि  पर्यटकको चहलपहल देखिएको छ ।

बिदा मनाउन र चाडबाडमा परिवारसँगै घुम्न आउने पर्यटकहरू उल्लेखनीय रूपमा सौराहामा घुम्न आएका छन् । वन्यजन्तु पर्यटनमा आधारित सौराहामा अहिले हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । दर्जनौँ हात्ती र यसका छावा एकैठाउंँमा अवलोकन गर्न पाउनुका साथै वरिपरिका मनोरम दृश्य हेर्न पाउने भएकोले पर्यटकहरू आउने गरेका हुन ।

कालिका नगरपालिकाका सागर लामिछाने परिवारको साथ घुम्न हात्ती प्रजनन केन्द्र आएको बताउनुहुन्छ । ‘दशैंको टिका पनि लगाइयो, अफिस पनि बिदा छ , उहाँले भन्नुभयो , यहाँ निकै रमाइलो रहेछ , अलग्गै अनुभूति हुँदो रहेछ ।’

युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका निवर्तमान अध्यक्ष ऋषि तिवारी पछिल्लो समय हात्ती चढ्ने भन्दा घुम्ने र अवलोकन गर्ने पर्यटकको आकर्षण बढेको बताउनुहुन्छ । ‘हात्ती आफैँमा ठुलो,उत्सुक खालको प्राणी हो, उहाँले भन्नुभयो I बिशेषगरी पर्यटकले यहाँ हात्तीको ब्रिडिङ्ग लाइभ हेर्न पनि पाउंँछन ।’ 

हात्ती सफारी, जिप सफारी सँगै हात्ती प्रजनन केन्द्रमा पनि पछिल्लो समय पर्यटकको उल्लेखनीय उपस्थिति  रहेको तिवारीले बताउनु भयो  । चाडबाड र सिजनमा मात्रै नभई सौराहामा बाह्रै महिना पर्यटक आउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाई छ ।   

सौराहामा कात्तिक महिना लागे देखिनै सबै ठाउँमा पर्यटक भरिएका छन् । राप्ती किनार, पब ,रेस्टुरेन्टमा पर्यटकहरूको बाक्लो उपस्थिति छ । असोज अन्तिमसम्म शून्य र सुनसान जस्तै बनेको सौराहा अहिले पर्यटनमा सन्तोषजनक देखिएको छ । 

अहिले सौराहामा आन्तरिक सँगै बाह्य पर्यटक गरेर  डिसेम्बर सम्म प्राय सबै होटल बुकिङ भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी बताउनुहुन्छ । ‘अहिले ९८ प्रतिशत सम्म होटल प्याक छन् । विदेशी पनि उत्तिकै छन् उहाँले भन्नुभयो , हामीले अहिले प्रजनन केन्द्रलाई प्याकेज अन्तर्गत नै राखेका छौँ ।’ दक्षिण एशियामै एकमात्र हात्ती प्रजनन केन्द्र सौराहामा रहेकोले पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको गिरीले बताउनु भयो । 

‘यहाँ ब्रिडिङ्गको लागि  ध्रुवे, रोनाल्डो, गोविन्दे जस्ता जङ्गली हात्ती आउंँछन , उहाँले भन्नुभयो , एकैठाउंँमा हात्तीका माउ बच्चाहरू खेलेको सबैका लागि रोमाञ्चक पनि हुन्छ । हात्ती प्रजनन केन्द्रमा पोथी हात्ती र बच्चा चर्नका लागि दिउसो जङ्गल लगिने र बिहान १० बजेसम्म  र दिउसो २ बजेपछि मात्र अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको एक्कासि भीड बढ्ने उहाँले बताउनु भयो  । 

हात्ती प्रजनन केन्द्र अवलोकन मात्रै नभई अध्ययन अनुसन्धानको पनि केन्द्र भएकोले पनि सौराहा आउने पर्यटकले यहाँ आउन नछुटाउने बताउनुहुन्छ राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाकी प्रमुख रचना शाह । हात्ती आफैमा अजंगको डरलाग्दो  तर शान्त प्राणी हो, उहाँले भन्नुभयो, यहाँ हात्तीका साना बच्चा देखि ठुला हात्तीहरू एकै ठाउँमा देखिने भएकोले पर्यटकको आकर्षण बढेको हो । सिजनमा दैनिक ५ देखि ६ हजारसम्मले अवलोकन गर्ने र अन्य समयमा पनि दैनिक २ हजार पांँचसयको हाराहारीमा प्रजनन केन्द्रमा आउने गरेको उहाँले जानकारी दिनुभयो  । सौराहाको मुख्य पर्यटकीय बजार क्षेत्र बाट करिब ३ किलोमिटर पूर्व – दक्षिण दुरीमा यहाँ पुग्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button